सुनसान रातलाई छिचोल्दै गरेको निकै गहिरो सुनिने गोलसिमल चरीको मधुर स्वरले मेरो कानमा अड्डा जमाईरहेको हुन्छ । निदाउने प्रयासले छिन छिनमा दाया बायाँ कोल्टो फ़ेर्छु । घोप्टो, उत्तानो पर्छु । तर निन्द्रादेबीले बास गर्लिन जस्तो लाग्दैन । सँधै झै त्यो रात पनि गोरी ढोका बाहिर मेरो गार्ड बसेको थियो । मेरो साथी भन्नु अथवा सहारा नै त्यही एउटी गोरी थियो । कोही नौलो मान्छे आउँदा भुकेर मलाई संकेत गर्दथ्यो भने नातेदारहरु आउँदा लुटपुटाउने र चाट्ने गरेर स्वागत सत्कार गर्दथ्यो । त्यस्तै संकाश्पद भुस्याहा कुकुरहरु घरको हाताभित्र प्रबेश गर्दा साथ हृयार्रर गरेर धपाउँथ्यो । समग्रमा गोरीको गुणगान र बिशेषता गाउनुपर्दा शायद यो ढोगी समाजको पापी, स्वार्थी, निर्दयी र ढोकेवाजी जस्ता र मै हुँ भन्ने मनुवाहरु गोरीको खुट्टामा बाँधे पनि सुहाउँदैन होला ।
जुन रात अचानक गोरी झम्टीझम्टी भुक्न थाल्यो । मेरो निदाउने प्रयासलाई भंग गराउँदै । अनिन्द्राको छटपटीमा झन गोरीद्धारा नुनचुक दल्ने काम भईरहेको आभाष भईरहेको थियो । जति जति गोरीको भुकाई चर्किन्थ्यो त्यति नै मेरो मुटुको ढुकढुकी बढिरहेको थियो । लागिरहेछ मुटुले पनि ठाउँ छोड्दै छ । एकाएक सँधैंको भन्दा गोरीको भुकाई अस्वभाविक थियो । बिचरा ! उ एउटा पशु हो र पनि म प्रतिको उसको बिश्वाश, कर्तब्य र समर्पणदेखि म हृदयदेखि नै कृतज्ञ हुन्छु । बिचरा गोरी ! झुपडीभित्र खासै चोरेर लैजानलायक केही नभए पनि मेरो सानो रामझुपडी र मेरो एउटा ज्यानको सुरक्षाकोलागि एकप्रहर रात पनि नभनेर आफ़्नो ज्यानको बाजी थापेर भुकिरहेको हुन्छ । रातभरि जाग्राम बसेर आफ़्नो ड्यूटी सक्रियतापुर्बक निभाईरहेको हुन्छ । उसको इमान्दारिताप्रति अन्तरात्मादेखि आभारी हुँदै मुरीमुरी धन्यबाद दिईरहेकी हुन्छु ।
मेरो मनमा नानाथरीका अनावश्यक कुराहरुले लक्ष्मण रेखा नाघेछन क्यारे ! बनको बाघले खाओस कि नखाओस् मनको बाघले नचपाई निलेको हुन्छ र मानौं म बाघको भुंडीभित्रै एकैडल्लो परेको छु । अनि आफुलाई सम्हाल्दै निडर हुने प्रयासमा सिरकभित्रै सकेजति गुटीमुटी पर्छुसास निसासिन्छ र सिरक खोलेर कान ठाडो पारेर बाहिरको चाल सुन्ने आँट गर्छु । यद्यपि शिरदेखि पाउसम्म सिरिङग भएर आउँछ । शंका उपशंकाहरुले मन झन भयभित भएर अतालिरहेको हुन्छ । झन भन्दा झन गोरीको आपत्तिजनक भुकाईले सिरक भित्रबाट टाउको निकाल्न त डर लागि रहेको थियो, ढोका खोलेर हेर्न झन साहसै आएको थिएन । कतै बाघ, भालु अरु कुनै बन्यजन्तु हो कि ? भूतप्रेत र मसान पो हो की ? चोर डांका पो आयो कि ? अथवा कोही आफन्त मतलव मलाई धर्मपत्नीको नाम जोडेको तीन महिना पनि नपुग्दै मेरो सोझीपनको फाईदा उर्ठाई थाहा नै नदिएर लापत्ता भएको त्यै पति भनाऊदो फर्केर त आएन ? भन्ने झिनो आशा पलाएर आएको हुन्छ । आ....त्यो पापी के आउँथ्यो, फर्केर आउने भए त ३,४ बर्षै आउँथ्यो । यत्रा १३, १४ बर्षभईसक्यो । यस्तै यस्तै भय, डर, त्रास र कौतहुलताले त्यो रात गोरीसंगै म पनि निदाउनै बिर्सेछु ।
बिहानपख गोरी रातभरी भुकाईको थकाईले होला पिंढीको चिसो भुइमा चार पाऊ फालेर मस्त सुतिरहेको थियो । टाउकोदेखि पुच्छरसम्म मुसार्छु । नारी कोमलता न हो ! गोरीलाई अनायासै मानबिय हृदयमा टाँस्ने र अंगालोमा बाँध्ने गर्छु गोरी ! तँ किन अतमभरि खान पाउने घरानियाँ परिवारको खोजीमा जाँदैनस् ? आखिर तेरो विवशता के हो ? मात्रै एक गाँस ढिंडो र आँतोले पेट भर्नु पर्ने । जूठो थाल चाटेर चित्त बुझाउनु पर्ने बाध्यता कुन जन्मको कस्तो श्राप हो तेरो ? चुहुने छानोमुनि जिर्ण काठको खाँबोमा आड लागेर गलिसकेको नाईलनको डोरीलाई बन्धन मानेर बाँच्नु पर्ने कुन महाशयले कोरीदिएको भाग्य हो तेरो ? तै पनि धन्यकी रहिछस् गोरी ! झरी पर्दा निथुरुक्कै भिजे पनि र्फरर मानेर पानी टक्टक्याउँदै झरी तार्छेस। चर्किने घाम लाग्दा जति गर्मी भए पनि लामो जिब्रो निकालेर सहज तरिकाले गुजार्छेस् । न कि अलि बल लगाए फुस्सै चुँडि हाल्ने डोरीको त्यान्द्रोलाई नै आधार मानेर धानिएकी छेस् । कस्तो बिडम्बना ! तेरो मासु खान मिल्ने भए जमाना अनुसार आँखा लाग्दो रातारात मोलतोल हुने थियो । तँ गुणी र दूधालु गाईभैंसी भएर जन्मेको भए तेरो मूल्य र भाऊको हानथाप निकै चल्नेथियो । तर कुन जुनीको पापले कुकर्नी भएर जन्मे होलिस् ।
के गर्ने गोरी ! कुकुर्नी भएर जन्मेपनि केही थिएन । तेरो पनि खानदानीको घरमा जन्मेर बास भएको भए । तँ जस्ती गुनी र समझदारी कुकुर्नी जहाँ गए पनि भने जस्तै मालिक पाउथिंस् । जो कोहिसंग पनि सजिलै रत्तिन सक्थिस् । तेरो प्रत्येक भुकाईको अर्थ हुन्थ्यो र मान्यता अनि कदर पनि । अरु सबै सुत्दा तँ पनि सन्तोष र आनन्दले न्यानो ठाउँमा ब्यबस्थित ढंगले सुत्न पाउँथिस् । बुद्धिजीबी, भलाद्मी र दिलवाले मालिकको मनज्ञ माया पाउनुका साथै सही मुल्यांकन स्वरुप दर्जा अनि थुप्रै थुप्रै स्यावासी पाउँथिस् । राम्रो स्याहारसुसार त्यस्तै मिठामिठा परिकार र माछा मासुको चैन गर्ने थिईस् । तेरो इमानदारिता, सहनशिलता र अनुशासन अनुरुप गोरी भन्दा राम्रो अथवा तँलाई सुहाउदो आधुनिक नाम जुथ्र्यो होला । र तेरो गुण, ज्ञाण पनि उच्च दर्जाकै मान्छेहरुद्धारा गाउथे होलान् ।
गोरी अझै सपनाको फूलबारीमा शायद लुकामारी खेल्दै थिईहोला । मेरो कोमलहृदय निचोरिंदै आएको थियो । तेरो कर्मको लेखानै यस्तै रहेछ । भन्दै गोरीको टाउकोमा हल्का प्याट्ट हान्न पुगेछु । साथै मेरो आँशुको थोपा संयोगबस गोरीको आँखामा खसेछ । सुत्ने इच्छा हुँदाहुंदै करैले अधुरो निन्द्रामा ब्यँझिरहेको थिई ऊ । मेरो आशुले गोरीको केही अंगहरु भिजिसकेको थियो । चाहेर पनि गोरी न मसंगै रुन सक्थ्यो न मेरो आँशु पुछिदिन । न मलाई हँसाउन सक्थ्यो न मलाई सहानुभूति र सान्त्वना दिन । यो कुसंस्कार र अहंकारी जस्ता भयानक बिसंगतिको शिकार म अनि गोरी बन्नु परेको छ । र चुपचाप मौन र्समर्थन गर्नु परेको छ । वास्तबमा गोरी त अचेतनशील प्राणी हो । तर आजको २१ औं शताब्दीमा पनि आधा आकाश मानिने सचेत नारीहरुलाई र गोरीलाई एउटै तराजुमा जोख्न रमाएको छ हाम्रो समाज । मात्रै नारीलाई बिपरित लिंगको बासना लिने साधनकोरुपमा हेरिएको छ । अनि बच्चा जन्माउने मेशिन बनाएर चुलो चौकोमा अनुबन्धित गरेको छ । के गर्ने यो पुरुषप्रधान समाजमा गोरी जस्तै म पनि भुक्न मिल्ने भए र हरेक भुकाईहरु सार्थक हूने भए धक खोलेर नारी चेतनाको बिकूल फुक्नेथिएँ । नारीको ब्यथा र मर्म डाँको छोडेर भुक्ने थिएँ । नारीमाथि भएको अन्याय र अत्याचार एक एक गरेर बक्ने थिएँ । त्यसैले गोरी तँ पनि हामी जस्ता अवला नारीहरुको आन्तरिक भावनाको महत्वपुर्ण श्रोत अनि ज्वलन्त उदाहरण बनेकी छेस् । अन्तमा, म तेरो असक्षम मालिकनीको हैसियतले गोरी ! अजम्बरी भएस् म ओईलिएर गए पनि, अटल र अमर भएस् म मरेर गए पनि । माफ गर गोरी तँलाई मेरो धेरै धेरै आशिर्बाद भन्दा अरु दिन सकिन !!!